राजाको जन्मदिनमा अवरोध गर्ने चेतावनी
राजाको जन्मदिनका अवसरमा राजदरवारमा विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको छ
अधिकारविहीन राजा ज्ञानेन्द्रको जन्म दिन मनाउन निस्किने शुभकामना जुलुसमा नेकपा माओवादी निकट विद्यार्थी संगठनले हस्तक्षेप गर्ने चेतावनी दिएको छ।
यही असार २३ गतेबाट ६१ औँ वर्षमा प्रवेश गर्न लागेका राजा ज्ञानेन्द्रको हिरक जन्मदिन मनाउन राजदरवारभित्र र बाहिर भइरहेका तयारीलाई सत्ताधारी आठदल निकट विद्यार्थी संगठनहरुले चलखेलको संज्ञा दिँदै त्यसप्रति सरकारलाई सचेत गराएका छन्।
राजाको जन्मदिनको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा राज्यको तर्फबाट समर्थन वा सहभागिता हुन नहुनेमा एकमत देखिए पनि जुलुस निकाल्न नदिने विषयमा भने उनीहरुबीच मतभेद देखिएको छ।
मतभेद
खारेज भएको राजपरिषद् सदस्य स्वामी प्रपन्नाचार्यको अध्यक्षतामा राजावादीहरूले गठन गरेको मूल नागरिक समारोह समितिको आयोजनामा २३ गते शनिवार खुलामञ्चबाट हजारौं नागरिक राजालाई शुभकामना दिन दरवार जाने जुलुशलाई रोक्ने वा नरोक्ने विषयमा मत बाझेको हो।
व्यक्तिगत रुपमा कसैले शुभकामना दिए आपत्ती नहुने तर जुलुस वा जयजयकारको कार्यक्रम गरिए हस्तक्षेप गर्ने माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले बताए।
तर नेपाली कांग्रेस निकट नेविसंघका अध्यक्ष प्रदीप पौडेलले भने त्यसो नगरिने जनाए।
मूल नागरिक समारोह समितिका सदस्य सचिव गीताभक्त जोशीले आफूहरुको जुलुस शान्तिपुर्ण हुने बताउँदै अवरोध नगर्न आव्हान गरेका छन्।
समावेशी प्रजातन्त्रमा सबैले आ-आफ्ना शान्तिपूर्ण कार्यक्रम गर्न पाउनु पर्ने बताउँदै उनले भने, "विद्यार्थीहरुले हाम्रो कार्यक्रममा बाधा पुर्याउनु होला जस्तो मलाई लाग्दैन।"
शान्तिपूर्ण सभा जुलुसमा यसअघि हुने गरेका हस्तक्षेपको आलोचना गर्नेहरुले त्यस्ता गतिविधि स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण संविधानसभा निर्वाचनका लागि वाधक हुने तर्क गर्छन्।
उनीहरू त्यसलाई प्रतिस्पर्धात्मक प्रजातान्त्रिक विधि र राजनीति विरुद्धको कदम ठान्छन्।
तर क्रान्तिकारीका अध्यक्ष न्यौपानेले त्यस्ता तर्क मुलुक र राजनीति निश्चित पद्धतिमा गैसकेपछि गर्न सकिने बताउँदै भने, "मान्छे बटुलेर राजाको पक्षमा नारा जुलुस गर्नु संविधानसभा, राज्यको पुनर्संरचना र जनआन्दोलनले ल्याएको परिवर्तन ठीक नभएको सन्देश दिनु हो। यो चलखेल गर्न खोजेकै हो।"
राजाले संविधानसभा विरोधी गतिविधि गरेमा संविधानसभा अघि नै राजसंस्था फाल्ने अधिकार आठदलीय गठबन्धनको बर्चस्व रहेको अन्तरिम संसदमा छ।
अस्वीकार
राजाको जन्मदिनका अवसरमा असार २२, २३ र २४ गते राजदरवारमा विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको छ।
राजदरवारभित्र गर्न लागिएको भोज र शुभकामना कार्यक्रममा राजतन्त्र अन्त्यको निम्ति अग्रसर नेकपा माओवादी सहित विभिन्न राजनीतिक दलका नेता, सरकारी अधिकारी, विदेशी कूटनीतिज्ञ र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई निम्ता गरिएको बताइएको छ।
युरोपेली संघ अन्तर्गतका विभिन्न देशका नेपालस्थित राजदूतहरुले बुधवार पत्रकारहरुसँग कुरा गर्दै आफूहरूले त्यस्तो निम्ता अस्वीकार गरेको जनाएका छन्।
No comments:
Post a Comment