दरवारलाई बजेटरकम छुट्याएको नदेखिएपछी नेताहरूको आपत्ति
सरकारले आगामी वार्षिक बजेटमा राजदरवारको निम्ति अदृष्य ढंगले रकम छुट्याएकोमा सत्ताधारी दुई प्रमुख दलका नेताहरुले आपत्ति जनाएका छन्।
नेकपा एमालेका नेता इश्वर पोखरेलले राजदरवारलाई बजेट दिन चोर तरिका अपनाइएको टिप्पणी गरे।
त्यस्तै किसिमको प्रतिक्रिया दिंदै नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक दीनानाथ शर्माले भने, "राजपरिवारको सम्पति राष्ट्रियकरण गर्नुपर्ने बेला खर्च छुट्याइनु प्रतिगामी सोच हो।"
अर्थमन्त्री डा रामशरण महतले बिहीवार संसदसमक्ष पेश गरेका १७० अर्बको बजेटमा राजदरवार शीर्षकमा कुनै बजेट छुट्याइएको छैन।
तर उनले शुक्रवार पत्रकार भेटघाटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विविध शीर्षकमा राजपरिवारका सदस्यको निम्ति साढे दुई र राजदरवार मर्मतको निम्ति दुई करोड रूपैयाँ छुट्टयाइएको बताएका थिए।
बीबीसीलाई प्रतिकृया दिँदै नेता पोखरेलले भने, "झट्ट हेर्दा 'राजदरवारको निम्ति कहाँ बजेट छुट्याएको छ ?' भन्न पनि पाउने। तर ' बजेट त जाने भयो नि!' भन्दा 'अँ यस्तो यस्तोमा राख्या छु' पनि भन्ने। यस्तो गर्नु आवश्यक थिएन। "
अर्थमन्त्रीको तर्क
राजाको बारेमा संविधानसभाले निर्णय गर्ने सहमति भएकाले उनी राष्ट्राध्यक्ष नभएको तर राजसंस्था निर्मूल नभइसकेकाले त्यसो गर्नु परेको अर्थमन्त्रीको तर्क छ।
त्यसबारे नेता पोखरेल भने, "संविधानसभाको निर्णय आउनुअघि दरवारप्रति राज्यको कति दायित्व हो भन्ने कुरा छलफल गरेर सहमतिमा पुग्नु पर्थ्यो।
"नेपाली कांग्रेसले त्यसो गरेन, उसको यस्तै कृयाकलापहरुले असहमति सृजना गर्न सहयोग पुर्याइरहेका छन्। "
उनले संसद र आठदलको बैठकमा त्यसको औचित्य पुष्टी गर्न अर्थमन्त्रीले पेश गर्ने तर्कका आधारमा धारणा बनाउने बताए।
नेकपा माओवादीले भने त्यसको विरोध गर्ने जनाएको छ।
तर त्यो विरोध कस्तो हुने भन्नेबारे माओवादीहरू अस्पष्ट रहेका संकेत दिंदै नेता दीनानाथ शर्माले भने, "त्यो त परिस्थिति हेरेर हामी चल्नु पर्ने हुन्छ।
"सहमतिको आधारमा राज्यसत्ता सञ्चालन गर्ने सहमतिमा हामी प्रतिवद्ध छौं र त्यसमा कोहि पनि विचलित नहोस भन्ने चाहन्छौ। "
राजा निलम्बित अवस्थामा रहेको भन्दै नागरिक समाज र विभिन्न दलहरुले राजपरिवारको निम्ति बजेट नछुट्टयाउन सरकारलाई सचेत गराउँदै आएका थिए।
यस्तो दबाबकाबीच सरकारले बजेट पेश गर्नुअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग परामर्श गरेका थिए।
तर पछिल्लो विवादका बारेमा ती दुई नेताको प्रतिकृया आइसकेको छैन।
No comments:
Post a Comment