नेताले जनताको कुरा सुन्नै छाडे
देशले संविधानसभाको चुनावका लागि काम गर भन्यो, हामीले विदेशको कार्यक्रम नै छोडेर त्यो काम गर्यौं। नागरिक समाजले पनि दबाब दिने काम गरिरहेकै छ तर नेताहरूले जनताको कुरै सुन्न छोडे। नत्र भने राजनीतिक गतिरोध यति धेरै लम्बिने नै थिएन।
हरिवंश आचार्य
वरिष्ठ कलाकार
राजनीतिक गतिरोध किन कायम रहेको होला र कहिलेसम्म रहला ?
राजनीतिक दलका नेताहरू कसले जित्ने भन्ने होडमा लागेकाले राजनीतिक गतिरोध कायम रहेको हो। दल र त्यसका नेताहरू कसले जित्ने भन्ने होडमा लागेकाले देशचाहिँ हारिरहेको छ। यो गतिरोधलाई जति लम्ब्यायो देशका लागि त्यति नै अहितकर र दीर्घकालीन हानि हुन्छ।
यो स्थिति सप्रियो भने नेताहरूको नाम इतिहासमा स्वर्णाक्षरले लेखिनेछ, बिग्रियो भने कालो अक्षरले लेखिनेछ। दलहरूले जीत-हारको लडाइँ गरिरहँदा देशले नै हार्यो भने दलहरूले जित्नुको र हार्नुको अर्थ रहँदैन। त्यसैले सबै दल र तिनका नेता देशलाई जिताउने काममा लाग्नुपर्छ। दल र नेताहरूले हठ नत्यागेसम्म यो गतिरोध कायम रहन्छ।
पहिलो जनआन्दोलन र दोस्रो जनआन्दोलनमा नैतिक समर्थन गरेर आन्दोलनलाई उत्कर्षमा पुर्याउने मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले अहिलेको राजनीतिक गतिरोधको अन्त्यका लागि के गर्न सक्छ ?
हामीले हाम्रो कार्यक्रम तथा तपाईंहरूकै पत्रिकाबाट आह्वान गर्ने हो, जो गरिरहेका पनि छौं। देशले अह्राएको काम गर्ने हो। देशले संविधानसभाको चुनावका लागि काम गर भन्यो, हामीले विदेशको कार्यक्रम नै छोडेर त्यो काम गर्यौं। नागरिक समाजले पनि दबाब दिने काम गरिरहेकै छ तर नेताहरूले जनताको कुरै सुन्न छोडे। नत्र भने राजनीतिक गतिरोध यति धेरै लम्बिने नै थिएन।/ गणतन्त्र संसद्बाट ल्याउनुपर्छ या संविधानसभाबाट ?
गणतन्त्र संसद्बाट प्रक्रिया पूरा गरेर चुनावबाटै ल्याइनुपर्छ। गणतन्त्रप्रति सबै दलले प्रतिबद्धता व्यक्त गरिसकेका पनि छन्। यसको अनुमोदन चुनावबाट भयो भने जनताको प्रत्यक्ष सहभागिता पनि हुन्छ। नेताले मात्र गणतन्त्र ल्याउन खोजे गाह्रो पर्छ। त्यसैले गणतन्त्रलाई जनताको भोटबाट अनुमोदन गराउनुपर्छ।
अहिले सरकार पुनर्गठनको चर्चा चलिरहेको छ। सरकार पुनर्गठन भयो भने सबै राजनीतिक समस्या समाधान हुन सक्ला ?
सरकार पुनर्गठनले मात्र सबै समस्याको निराकरण हुन सक्दैन। सरकार पुनर्गठन गरेर सात राजनीतिक दलको समस्या त समाधान होला तर सम्पूर्ण राजनीतिक समस्याको समाधान हुन सक्दैन।
मधेशलाई समेटेर मधेशका असन्तुष्ट पक्षलाई सरकारमा सामेल गराई चुनावमा लान सकियो भने मात्र राजनीतिक निकास निस्कन सक्छ। तराईलाई साथमा लिएर नहिँडी अब निकास खोज्न गाह्रो छ। तराईको भावनाको कदर गर्दै सिंगो मधेशको प्रतिनिधित्व गराएर मात्र अगाडि बढ्नुपर्छ।
प्रस्तुतिः विदुर गिरी
No comments:
Post a Comment