Tuesday, September 18, 2007

कपीलबस्तुमा थप १२ जनाको शव प्राप्त

कपीलबस्तुको चन्द्रौटा र कृष्णनगरमा भएको हिंसामा परि मारिएका थप १२ जनाको शव बुधबार प्राप्त भएको छ।
ति शवहरू कृष्णनगर नजिकै विसनपुरको सुराही खोलाको छेउमा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले हिंसाको क्रममा जलाइएका घरहरूमा परि अरू मानिसहरू पनि मारिएका हुनसक्ने आशंका गरेको छ।
तनाव सामान्य हुँदै गएपछि क्षतिको विवरण संकलन गर्दैगर्दा ति शवहरू फेला परेका थिए।
आगोले घरहरू पुरै जलेको हुँदा अब सग्ला शवहरू निकाल्न प्राय: असम्भव हुने उद्धारकार्यमा संलग्न प्रहरीहरूले बताएका छन्।
हिंसापछिका चार दिनसम्म पनि क्षतिको वास्तविक विवरणहरू भने आइसकेको छैन।
डरका कारण मानिसहरू बाहिर निस्कन सकेका छैनन् र घर छाडेकाहरू अझै फर्कन सकेका छैनन्।
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको एक टोली बुधबार बिहान हिंसाग्रस्त क्षेत्रमा पुगेको थियो।
उक्त टोलीले मानिसहरू निकै तनावमा रहेको र राहतको अभाव रहेको बताएको छ।
टोली नेता रिचर्ड बेनेटले बुधबार भने, ''आज हामीले कुरा गरेका मानिसहरू तत्कालिक राहत नपाएकामा निराश थिए। उनिहरूले सुरक्षित अवस्थामा तथा स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने बलियो ईच्छा पनि ब्यक्त गरे।''
स्थिति सामान्य बन्दै गएपछि जिल्ला सदरमुकाम तौलिहवामा बुधबार कर्फ्यू हटाइएको छ। /

No comments: